महोत्तरी । महोत्तरी प्रहरीले मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका १ लक्ष्मीबास बस्ने २६ वर्षीय हिरेन्द्र महरा चमार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बुधबार बिहान करिब २ बजे गौशाला नगरपालिका ४ रजखोरस्थित विनोदकुमार सिंहले आफ्नो घर आँगनमा पार्किङ गरी राखेको ज ९ प ३५५ नम्बरको डिस्कभर मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा चमारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चमारलाई गौशाला ७ स्थित सम्सी माईस्थान सडक खण्डमा मोटरसाइकल चलाई लगिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा बिहान ८ बजे नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।




