वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह श्रेष्ठले किर्ते गरी नागरिकता दिलाएको भन्दै कारबाहीको माग गरी जिल्ला प्रशासन कार्यालय, पर्सामा उजुरी परेको छ ।
नगर प्रमुख श्रेष्ठले नक्कली बाबु बनेर एक युवतीलाई नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको हो । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का सभापति मह्महद साहबुदिनले नगर प्रमुख सिंहले किर्ते गरेको भनी कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन् ।
मेयर सिंहले किर्ते गरी रूबीना श्रेष्ठ भन्ने युवतीलाई आफ्नो छोरी बनाई जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएको समाचार प्रकाशित भएपछि जाहेरी दरखास्त दर्ता भएको हो ।
नगर प्रमुख सिंहका विरूद्ध दर्ता गरिएको जाहेरीमा झुटो विवरण पेस गरी जन्मदर्ता गरी नागरिकता बनाएकाले नागरिकता र राहदानी खारेजका साथै नागरिकता लिने तथा नक्कली बाबु बनेर नागरिकता दिलाउने नगर प्रमुख सिंहलाई कानुन अनुसार कारबाही गर्न माग गरिएको छ ।
नगर प्रमुख सिंह र श्रीमती अन्नपूर्ण मानन्धरका एक मात्र छोरा छन् । तर, मेयर सिंहले जिल्ला प्रशासन कार्यालय, पर्सामा विभिन्न प्रमाण पेस गरी रूबीना श्रेष्ठ आफ्नो भएको दाबी गरी नागरिकता दिलाएको खुलासा भएको छ ।
किर्ते जालसाजी गरी नागरिकता लिएकी युवती श्रेष्ठले पासपोर्ट समेत बनाएर विदेश पुगेकी छिन् । मेयर सिंहले वडादेखि जिल्ला प्रशासन कार्यालय पर्सासम्मका कर्मचारीलाई प्रभावमा पारेर नागरिकता दिलाएको आरोप मेयर सिंहमाथि छ ।
गएको स्थानीय निर्वाचनमा वीरगञ्ज महानगरको मेयरका उम्मेदवार बनेका बेला पेस गरेका पारिवारिक विवरणमा समेत रूबीनालाई छोरी बनाएको कुरा लुकाएको नेपाली कांग्रेस क्षेत्रीय सभापति मह्महद साहबुदिनको आरोप छ ।




