वीरगन्ज । वीरगन्जको छपकैयास्थित सूर्या अस्पतालमा उपचार गराएकी एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोनिका यादव सिंहले आइभीएफ (इन-भिट्रो फर्टिलाइजेसन) प्रविधि’बाट उपचार गरेकी महिलाले सोमबार तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । जन्मिएका तिम्ल्याहा बच्चामा दुई छोरी र एक छोरा रहेका छन् ।
विगत १५ वर्षदेखि निसन्तान रहेकी सर्लाहीको कविलासी नगरपालिका ७ की महिलाले डा. मोनिकाले गरेको आइभीएफ उपचारपश्चात् तिम्ल्याहा बच्चालाई जन्म दिएको अस्पतालका निर्देशक डा. सरोज सिंहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएका हुन् ।
महिलाले जन्माएकी तिनै जना शिशु स्वस्थ रहेपनि थप सावधानीका लागि उनीहरूलाई अस्पतालस्थित एनआइसीयू वार्डमा बाल रोग विशेष डा. कुश राज गिरीको प्रत्यक्ष निगरानीमा राखिएको डा. सरोजले बताए । पछिल्लो एक वर्षमा अस्पतालमा उपलब्ध रहेको आइभीएफ विधिबाट उपचार गराएर हालसम्म ३५ भन्दा बढी दम्पतीले सन्तान प्राप्ति गरिसकेको डा. सरोजले बताए ।




