काठमाडौं । लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कामचोक गाउँ नपुग्दै चौतारो मुनितिर जिप दुर्घटना भएको हो ।
जिल्लाको दोर्दी गाउँपालिका ४ नौथर सेराबाट कामचोक जाँदै गरेको ग १ ज ७५६१ नम्बरको बोलेरो जिप आइतबार साँझ ५:४० बजेको समयमा दुर्घटना भएको हो ।
दुर्घटना परी मृत्यु हुनेमा दोर्दी गाउँपालिका ४ का ५४ वर्षीय पूर्णबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना परी दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा दोर्दी गाउँपालिका ४ बस्ने ५४ वर्षीया गंगामाया गुरुङ र सोही ठाउँ बस्ने ४७ वर्षीया मनी तामाङ छन् । उनीहरुको अवस्था मध्यम रहेको छ । घाइतेको उद्धार गरी उपचारका लागि सदरमुकाम बेशीसहर ल्याइएको छ ।
जिपमा सवार अन्य दुई जनाको अवस्था सामान्य रहेको छ । जिपमा चालकसहित ६ जना सवार थिए । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।




