काठमाडौं । दुई युवकलाई खुकुरीले हानेर हत्या गर्ने युवतीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय मोरङ केराबारी र इप्रका चैनपुरले १० माघमा पक्राउ गरेको हो ।
संखुवासभा जिल्ला अदालतबाट १२ चैत ०६६ मा व्यक्ति हत्या आरोपमा दोषी ठहर गरी २० वर्ष कैद सजाय पाएकी संखुवासभा साबिकको सिद्धकाली गाविस २ बस्ने ३५ वर्षीया कैली तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
फरार कैली संखुवासभाबाट भागेर मोरङको केराबारी आएर लुकिछिपी बस्दै आएकी थिइन् । इप्रका चैनपुर, संखुवासभाले उनलाई मोरङ प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।
उनीसहितका व्यक्तिले १० फागुन २०६० सालमा स्थानीय मंगल लिम्बु र योगेन्द्र दाहालको हत्या गरेका थिए । विवाद हुँदा उनीहरुले लाठी र खुकुरी हानेर हत्या गरेका थिए । कैलीलाई अदालतमा उपस्थित गराइएकोमा उनी जेल चलान भएको प्रहरीले जनाएको छ ।




