सप्तरी । स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको अभियोगमा सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ । ८ लाख भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ ।
चौधरीसहित लेखा अधिकृत श्याम सुन्दर यादव, माध्यमिक तह शिक्षक श्याम प्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिता कुमारी साहसमेत ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
रुपनी गाउँ कार्यपालिकाको कार्यालयले मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरेको अख्तियारको दाबी छ ।
लागत अनुमान नै तयार नगरी नगराई ९ लाख ११ हजार ९२५ रकम पर्ने जस्मिन हाईजिन प्रोड्रक्ट प्रालि, मोरङद्वारा उत्पादित ‘सेफ्टी लेखिएको स्यानिटरी प्याडलाई १७ सत्र लाख ८५ हजार ९२८ रुपैयाँमा खरिद बिक्री गरी गराई ८ लाख ७४ हजार ३ रुपैयाँ बराबरको रकम अस्वाभाविक रुपमा बढी मूल्य तिरी आफूहरुलाई लाभ पु¥याउने र गाउँपालिकालाई हानि नोक्सानी पु¥याउने कार्य गरेको खुलेको छ ।
उनीहरुविरुद्ध ८ लाख ७४ हजार ३ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन मागदाबीसहित आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।






