काठमाडौं । पछिल्लो समय निजामती वृत्तमा पुरस्कार र तक्माको इज्जत घट्दो छ । तक्मा र पुरस्कार थाप्नेहरुले त्यसलाई जोगाउन नसक्दा यस्को गरिमा खस्कन थालेको छ । सिफारिस समितिले उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई हेरेर होइन कि आफ्नो दलको हो वा होइन भन्ने आधारमा नाम सिफारिस गर्दा पुरस्कार र तक्माको गरिमा ओरालो लाग्न थालेको छ ।
यस्तै देखिएको छ राष्ट्रपतिको हातबाट थाप्ने पदकको हाल । ०७९ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट मान पदवी थापेकी एक कर्मचारी दुई साता नबित्दै घुस सहित पक्राउ परिन । उनी हुन् लेखा अधिकृत महत्त पनेरु । उनी जिल्ला मालपोत कार्यालय ताप्लेजुङका अधिकृतको रुपमा कार्यरत रहँदा डेढ लाख घुस रकमसहित पक्राउ परेकी हुन् ।
अख्तियारबाट खटिएका कर्मचारीले अधिकृत पनेरुलाई १ लाख ५० हजार घुससहित पक्राउ गरेर विशेष अदालतमा मुद्धा दायर गरेको थियो । विशेष अदालतले शुक्रबार लेखालाई ६ महिना कैद, १ लाख ५० हजार रुपैयाँ बिगो र बिगो बमोजिम जरिवाना हुने सजाय सुनाएको छ ।
पनेरुलाई अख्तियारले सोवाग्राहीबाट लिएको रु १ लाख ५० हजारसहित नियन्त्रणमा लिएको थियो । बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिए बापत सेवाग्राहीबाट रु १ लाख ५० हजार रकम लिएको अभियोग लागेको छ ।
उनी वैशाख १ गतेमात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवा श्री चतुर्थबाट पुरस्कृत भएकी थिइन । पुरस्कार थापेको दुई साता पछि घुससहित पक्राउ परेकी पनेरुलाई विशेष अदालतले २१ महिनापछि घुस प्रकरणमा दोषी ठहर गर्दै ६ महिना कैद, १ लाख ५० हजार रुपैयाँ बिगो र बिगो बमोजिम जरिवाना हुने सजाय सुनाएको छ ।






