सुर्खेत । मुगुमा आगलागी हुँदा एउटै घरका दाजु बहिनीको मृत्युु भएको छ । जिल्लाको खत्याड गाउँपालिका २ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
डीएसपी थापाका अनुसार स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो । शव पहिचान गर्न नसकिएपछि डाक्टरलाई नै बोलाएर शबको पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुुसार लालु सञ्ज्यालको घरमा उनका श्रीमती र दुई छोराछोरी बस्दै आएका थिए । लालु कामका लागि भारत गएका छन् । लालुका श्रीमतीले ताप्नका लागि बालेको आगो राति निभाउन भुल्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीमा छोराछोरीको मृत्यु भएको तर आमा भने भागेर बाँच्न सफल भएको थापाले बताए ।
उनको गोठभित्र रहेका चौपाया पनि आगलागीमा परी मरेका छन् । खाना पकाउने भान्सा कोठाबाट आगलागी सुरू भएको र आगलागीबाट घरमा धन सम्पत्ति, पशु चौपाय र खाद्यान्न पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । घटनाको मुचुल्का गर्ने काम भइरहेको र क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।






