वीरगंज । सखुवाप्रसौनी गाउँपालिका २ स्थित दीपनारायण आदर्श माविमा अनियमितता भएको आरोप छ । स्थानीय अभिभावक विनोद दहैत थारूले जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ वीरगंजमा उजूरी गर्दै विद्यालयमा भएको अनियमितताविरुद्ध छानबीन गर्न माग गरेका छन् ।
उनले विद्यालय व्यवस्थापन समितिको अवधि सकिएपनि गठन नभएको, मावि तहसम्म शिक्षा निशुल्क भएपनि विद्यालयले शुल्क लिने गरेको, विद्यालय भवन निर्माण र दिवाखाजा शीर्षकमा अनियमितता भएको, विद्यार्थीको चाप अनुसार शिक्षक दरबन्दी नगरिएको, अन्यत्रबाट सरुवा भएर आएका मावि शिक्षकलाई गापाले हाजिरी नगराएको, अनधिकृतरूपमा शिक्षक भर्ना गरिएको आरोप लगाएका छन् ।
यसैगरी, विद्यालयका प्रधानाध्यापक राजनीतिक गतिविधिमा बढी र विद्यालयको गतिविधिमा कम सक्रिय हुने गरेका कारण विद्यालयमा प्रायः अनुपस्थित हुने र त्यसबाट पठन पाठनमा समस्या भइरहेको थारूले आरोप लगाएका छन् ।
उनले निजी स्रोतका शिक्षकहरूलाई निर्णय अनुसार पारिश्रमिक भुक्तान नगरेको, करारमा शिक्षकहरू नियुक्ति गर्ने सूचना गत वर्ष प्रकाशित गरिएकामा उनीहरूलाई एक वर्षसम्म काममा नराखिएको र अहिले आएर पुनः सूचना प्रकाशित गरेर भर्ना गर्दा तोकिएको भन्दा एक जना शिक्षक बढी भर्ना गर्न नतीजा प्रकाशित गरेको भन्दै यी सबै बेथितिविरुद्ध छानबीन गरी कारबाई गर्न माग गरेका छन् ।




