बारा । इलाका प्रशासन कार्यालय सिमराबाट एउटै व्यक्तिले दोहोरो नेपाली नागरिकतासँगै दोहोरो राहदानी समेत लिएको खुलेको छ । जितपुरसिमरा उपमहानगरपालिका ५ बकुलिया गाउँका स्वर्गीय जगरनाथ चौधरी र उनकी पत्नी सम्झादेवीका तीन छोरामध्ये कान्छा देवेन्द्र दोहोरो नागरिकता र राहदानी लिएर वैदेशिक रोजगारीका सिलसिलामा ४ वर्षदेखि बेलायतमा बस्दै आएको खुलेको हो ।
देवेन्द्रले दोस्रोपटक उपेन्द्रका नाममा नागरिकता र राहदानी लिएको खुलेपछि जिल्ला प्रशासन कार्यालयले छानबिन अघि बढाएको छ । तीन पुस्तेमा बाबु, आमा, नाम, (देवेन्द्र) थर, वतन, जन्ममिति सबै मिलेको छ । देवेन्द्रले २०६३ भदौ ४ मा वंशजका नाताले पहिलो पटक नागरिकता लिएका थिए । यो नागरिकता सिमराका इलाका प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत चिरञ्जीवी सिग्देलले जारी गरेका हुन् ।
सिग्देलले जारी गरेको नागरिकता नम्बर २१४०२ रहेको छ । यो नागरिकतामा जन्ममिति २०४४ माघ १० गते उल्लेख छ । सात वर्षपछि तिनै देवेन्द्रले बुवाको नाम यथावत् राखी आफ्नो नाम उपेन्द्र चौधरी (नाम र जन्म मिति फेरेर) राखेर पुन: २०७० असोज ७ मा ३३२०७९/३८९३९ नम्बरको दोहोरो नागरिकता लिए । यसमा भने जन्ममिति २०५० माघ १२ गते खुलाइएको इलाका प्रशासन कार्यालयबाट उपलब्ध अभिलेखमा छ । दुवै नागरिकता लिँदा सनाखत गर्ने व्यक्ति फरक फरक छन् ।
देवेन्द्रको नामको नागरिकता (पहिलो पटक) मा बुवा जगरनाथ चौधरीले सनाखत गरेका छन् भने दोस्रो नागरिकतामा जगरनाथका माइला छोरा रमेन्द्र चौधरीले सनाखत गरेका छन् । उता जगरनाथको मृत्युपश्चात् उनकी पत्नी सम्झादेवीले २०७३ असोज १३ मा नगरपालिकाबाट नाता प्रमाणित लिँदा नगरपालिकाले त्यसमा जगरनाथ र उनकी पत्नी सम्झानाकी तीन छोरा भनेर प्रमाणित गरेर दिएको छ ।
तीन छोरामध्ये जेठो परमेन्द्र, माइलो रमेन्द्र र कान्छो देवेन्द्र नै उल्लेख गरिएको छ । यसरी नाता प्रमाणितमा देवेन्द्रले लिएको नागरिकता नम्बर २१४०२ उल्लेख छ, जुन उनले पहिलो पटक लिएका थिए । पछिल्लो नाता प्रमाणितमा जगरनाथका छोरा उपेन्द्र भनेर कतै उल्लेख छैन । यसैगरी देवेन्द्रले पहिलो पटक ८ अक्टुबर २०१७ मा १०५७२८३१ नम्बरको राहदानी लिएको पाइएको छ ।
यस राहदानीमा २१४०२ नम्बरको नागरिकता र जन्ममिति २६ जनवरी, १९८८ उल्लेख गरिएको छ । त्यस्तै, तिनै देवेन्द्रले उपेन्द्रका नाममा ३० सेप्टेम्बर २०१३ मा दोहोरो पटक लिएको राहदानी नम्बर ०६७३६३१२ रहेको छ । यसमा नागरिकता नम्बर भने ३२२०७९/३८९३९ उल्लेख छ । जन्ममिति २५ जनवरी १९९४ रहेको छ ।
यसैगरी सिम्रौनगढ नगरपालिका ७ बाट झूटो विवरण पेस गरी नागरिकता लिएका राकेश कुमारले सरकारी जागिर खाइरहेको पाइएको छ । स्थायी घर भारत मोतीहारी जिल्लाको खडतरी गाउँमा भई २०६८ वैशाख २७ मा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएर उनले जितपुरसिमरा उपमहानगरपालिकामा सुब्बा पदमा जागिर गरिरहेको खुलेको हो ।
राकेशका ससुरा नागेन्द्रप्रसाद महतोले २०७९ असार ८ मा उक्त नागरिकतामाथि छानबिन गर्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि रहस्य खुलेको हो । यता उजुरीकर्ता नागेन्द्र छानबिनका लागि पटक पटक प्रशासनमा पुगेपनि छानबिनमा चासो नदिएर आफूलाई अल्मल्याएको बताउँछन् । नागेन्द्रले छोरी शकुन्तलाको ८ वर्षअघि राकेश भारतमै रहँदा विवाह गरेका थिए ।
बारामा दोहोरो नागरिकता लिने यी दुई प्रतिनिधि घटना हुन् । दाहोरो नागरिकता लिन सफल भएका सयौं भारतीय अहिले पारि बसोबास गर्ने र वारि विभिन्न व्यापार व्यवसायमा संलग्न भएको पाइन्छ । दोहोरो नागरिकता लिएका त्यस्ता गैर नेपालीको संरक्षण भने विभिन्न राजनीतिक दलका व्यक्तिले दिदैं आएको जानकारहरू बताउँछन् ।
कानुनी व्यवस्था अनुसार तीनथरी नागरिकताविरुद्ध कारबाही हुने गरेको छ । पहिलो, गृहमार्फत हुन्छ, जुन लामो प्रक्रियाको हुन्छ । दोस्रो, जिल्ला प्रशासन र तेस्रो प्रहरीले सिधा छानबिन गरी अदालतमा मुद्दा दायर गर्छ । नेपाल नागरिकता ऐनअनुसार गैरकानुनी नागरिकता दिलाउने कार्यमा साक्षी, सनाखत वा सिफारिस गर्नेलाई समेत दण्डित गर्ने कानुनी व्यवस्था छ ।
यसैगरी किर्ते कागज खडा गरी नागरिकता बनाई प्रचलनमा ल्याउने, गर्ने, गराउनेलाई समेत दण्डित गर्न सकिने व्यवस्था छ । नागरिकता ऐनमा बढीमा ५ वर्षसम्म कैद वा १ लाखसम्म जरिवाना वा दुवै सजायको कानुनी व्यवस्था छ । जानी जानी नियतवश गैरकानुनी नागरिकता दिने कार्यमा संलग्न कर्मचारी र अधिकारीलाई समेत कारबाही हुने कानुनी व्यवस्था छ ।




