धनुषा । धनुषाका दिलिप महतोको मनसायपूर्वक हत्या गरेको धनुषा जिल्ला अदालतको ठहर उच्च अदालत जनकपुरले सदर गरेको छ । न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र धुव्रकुमार पियाको इजलासले दिलिपलाई मनसायपूर्वक हत्या गरिएको सदर गरेको हो ।
दिलिल हत्या प्रकरणको मुद्दामा बुधबार अन्तिम सुनुवाइ गर्दै उच्चले जिल्लाको फैसला सदर गरेको हो । अदालत स्रोतका अनुसार विपिनकुमार महतो र मुनिन्द्र महतोलाई जन्मकैदको सजाय गरिएको छ । जितेन्द्रकुमार महतोलाई घटनाको मतियार ठहर गरिएको छ ।
मतियारलाई मुल सजायको आधा सजाय हुने कानुनी व्यवस्था छ । प्रतिवादीहरू रोशनकुमार यादव, शत्रुघन महतो, सत्यनारायण महतो र विनोदकुमार महतोले भने सफाइ पाएका छन् ।
स्थानीय औरही खोला उत्खनन् रोक्न गएका दिलीपको २०७६ पुस २२ गते निर्ममतापूर्वक हत्या गरिएको थियो । क्रसर व्यवसायीले उनलाई चरम यातना दिएर कुटपिट गरी बेहोस बनाएपछि टिप्परले टाउको कुल्चिएर विभत्स हत्या गरेको विषय प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
उक्त हत्यामा संलग्नमाथि जन्मकैदको सजाय माग गर्दै सरकारी वकिलको कार्यालयले ७ जनाविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो । दिलिपका बुवा रामजनम महतोले दिएको जाहेरीपछि प्रहरीले क्रसर उद्योगीदेखि टिप्पर चालकसम्म नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
जाहेरीमा क्रसर उद्योगी विपिनकुमार महतो र विनोद महतो, टिप्पर चालक मुनिन्द्र महतो, टिप्परका सहचालक जितेन्द्र महतो (सत्यनारायण), लोडर चालक जितेन्द्रकुमार महतो, क्रसरका हेड मिस्त्री शत्रुघन महतो र खोलामा सँगै गएका दिलिपका साथी रोशनकुमार यादवलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम आजीवन कैद सजायको माग गरिएको थियो । उक्त घटनामा ६ जना तत्कालै पक्राउ परेका थिए ।




