काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन सचिवसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय, गजेन्द्र ठाकुर र सञ्जय शर्मासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले हाल अध्यागमन विभागका महानिर्देशक रहेका रुद्रमान सिंह तमाङलाई समेत उक्त मुद्धामा प्रतिवादी बनाएको छ । रुद्रमान तत्कालीन समयमा मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समय अनुसन्धानपछि आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैँयामा ठेक्का सम्झौता गर्दा सम्झौता विपरित कानुनले तोकेभन्दा बढी पेस्की मोबिलाईजेशन गरेको आरोप उनीहरुमाथि छ ।
अख्तियारले सचिवहरु क्रमशः शर्मा, उपाध्याय, गजेन्द्रकुमार ठाकुरविरुद्ध आयोगले क्रमशः ६ करोड ९७ लाख ८३ हजार १ सय ७८ रुपैँया ९६ पैसा, ४ करोड ११ लाख ३४ हजार २ सय ७९ रुपैँया ९२ पैसा र ६० करोड ४९ लाख १९ हजार ८ सय ८४ रुपैँया ३१ पैसा विगोसहितको मागदावी गरेको छ ।
यस्तै अख्तियारले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ, तत्कालीन बोर्ड सदस्य चन्द्रबहादुर थापाविरुद्ध ७१ करोड ५८ लाख ३७ हजार ६४३ रुपैयाँ मागदावी गरेको छ ।
यस्तै तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराईविरुद्ध २२ करोड ७५ लाख १९ हजार ८९६ रुपैयाँ र तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपैयाँ बिगो कायम गरेको अख्तियारले जनाएको छ ।






