धनगढी । डडेलधुरा (भीमदत्त) राजमार्ग अन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा बुधबार साँझ विस्फोटक पदार्थ विस्फोट हुँदा चार जना घाइते भएका छन् । सडक मर्मतसम्भार गर्दै गरेको अवस्थामा भएको उक्त विस्फोटबाट उनीहरु घाइते भएका हुन् ।
घाइतेहुनेहरुमा एस्काभेटरका चालक डडेलधुराको आलिताल गाउँपालिकाका २४ वर्षीय विकास थापा, कैलालीको चुरे गाउँपालिकाका ४५ वर्षीय बसन्त खड्का, सुर्खेत घर भई कञ्चनपुर बस्दै आएका रोलर अपरेटर २२ वर्षीय हीरा थापा र विराटनगर घर भई कञ्चनपुर बस्दै आएका ३५ वर्षीय नवीन देव घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
घटनालगत्तै फलटुँडेबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो । चारै जनाको अनुहार र आँखामा चोट लागेको छ । उनीहरु बोल्न सक्ने अवस्थामा रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते सबै कामदार रहेको बताइएको छ ।




