रौतहट । रौतहटको मौलापुरमा आयोजन हुने मधानी महायज्ञमा सहभागी हुन बलिउड अभिनेता गोविन्दा आउने भएका छन् । परौता पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने संकल्पसहित फागुन २२ देखि २६ गतेसम्म ‘मधानी महोत्सव २०८०’ हुन लागेको हो ।
मौलापुर नगरपालिकाले आयोजन गर्न लागेको महोत्सवमा बलिउडका अभिनेता गोविन्दा आउने मेयर रीना कुमारी साहले जानकारी दिइन् । महोत्सवमा फतेपुरको नाच फाल्गुन २२ र २३ गते, मधानी यज्ञ तथा शिवको बरात २३ गते, भारतको शिव लिला प्रदर्शन, फाल्गुन २३ र २४ गते, मधानी सांस्कृतिक समारोह फाल्गुन २५ गते र अन्तर्राष्ट्रिय दंगल प्रतियोगिता फाल्गुन २६ गते हुने तय भएको जानकारी दिइन् ।
मेयर साहका अनुसार महोत्सवमा बलिउडका चर्चित कलाकार गोविन्दाका साथै नेपाली कलाकारहरू पल शाह, दिनेश डिसी, कमल राईसहितका दर्जनौँ कलाकार सहभागी हुने निश्चित भइसकेको छ । २०७६ सालको महाशिवरात्रिको दिन पहिलो मधानी महायज्ञको आयोजना गरी सुरुआत गरिएको महोत्सवको पाँचौं संस्करण फागुन २५ गते हुने भएको हो ।




