काठमाडौं । न्यायपरिषद्को बैठकले दुई न्यायधीशलाई बर्खास्त र एकलाई सचेतनासहित सरुवा गरेको छ । परिषद्को आइतबार बसेको बैठकको सिफारिसमा उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदमुक्त गरेका हुन् ।
यस्तै सिभिल बैंकका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङको मुद्दा मिलाउन घुस डिल गरेका न्यायाधीश राजकुमार कोइरालालाई भने सचेत गराएर महोत्तरी सरुवा गरिएको छ । सिभिल ग्रुपका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई छुटाउन एमाले निकट वकिल रुद्र पोखरेलसँग घुस बार्गेनिङ गरेको आरोप लागेका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराउँदै महोत्तरी सरुवा गरिएको छ ।
न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच तामाङलाई धरौटीमा छुटाउन २ करोडको डिल भएको अडियो सार्वजनिक भएको थियो । यस्तै कोइरालालाई परिषद्ले सचेत गराउँदै निगरानीमा राख्ने निर्णय गरेको छ । इच्छाराजको मुद्दा मिलाउन कानुन व्यवसायी रुद्र पोखरेलसँग २ करोड डिल गरेको अडिओ २०७९ असोजमा बाहिरिएको थियो ।
चोलेन्द्र शमशेर प्रधानन्यायधीश हुँदा उनका नाममा घुस रकम उठाउने गरेको आरोप लाग्दै आएका उच्च अदालतका न्यायधीश नवराज थपलिया निलम्बनमा परेका हुन् । वर्ष दिन अघिदेखि थाती राखेको कारवाही आइतबार गरिएको हो ।
मूल घर नुवाकोट भएका थपलिया नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका पूर्वसभापति समेत हुन् । चोलेन्द्रकै कृपाबाट थपलिया न्यायधीशमात्र भएनन्, उच्च अदालत पाटनमा पदस्थापन भएका थिए । पछि त्यहाँबाट सरुवा गरिएको थियो ।
यस्तै अर्का न्ययाधीश निरौला अपहरण, शरीर बन्धक तथा फिरौती लिएको कसुरमा पक्राउ परेका ‘सोले’ भन्ने दुर्गाबहादुर बुढाथोकीलाई भारतीय नागरिक भन्दै सफाइ दिएपछि विवादित बनेका थिए ।
भारतीय आधार कार्ड लिएकै आधारमा निरौलाले भारतीय नागरिक भन्दै सफाइ दिएपछि उनीमाथि गम्भीर न्यायिक विचलनको आरोप लगाउँदै निलम्बन गरिएको हो ।




