रौतहट । सशस्त्र प्रहरी बल नेपालले गोली लोड गरिएको अटोमेटिक पेस्तोल बरामद गरेको छ । सशस्त्रले जिल्लाको सीमावर्ती क्षेत्रस्थित ब्रह्मपुरी गाउँपालिका ५ इनरुवा सीमा इलाकाबाट मेड इन यूएसए लेखिएको १ एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको ५ राउण्ड गोली बरामद गरेको हो ।
शुक्रबार साँझ ८ बजे बोर्डर आउट पोष्ट (बीओपी) सखुअवाबाट खटिएको गस्ती टोलीले चेक प्वाइन्ट थापेर चेकजाँच गर्ने क्रममा हतियार बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टर अगर्वाले जनाएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय बीआर ३० एक्स ७७१३ नम्बरको मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्ति चेकिङमा रहेका सशस्त्र प्रहरीलाई देख्नासाथ भाग्न खोज्दा उनीहरूको साथबाट हतियार खसेको बुझिएको छ ।
ती दुवै व्यक्ति तत्कालै भारततर्फ नै फरार भएका छन् । म्यागजिनमा गोली लोड गरिएको पेस्तोल बरामद हुनुले व्यक्तिहरू नेपालतर्फ कोहि कसैमाथि सिधै आक्रमण गर्न आएको हुन सक्ने सुरक्षा अधिकारीहरूले आशंका गरेका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।




