रौतहट । राजदेवी नगरपालिका १ स्थित माध्यमिक विद्यालय पथराका प्रधानाध्यापकलाई विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष प्रभुराय यादवले हातपात गरी माइन्युट बूक खोसी लगेका छन् ।
हिजो बिहान ११ बजे विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष यादवले विद्यालय पुगेर प्रअ उतिचन्द्रराय यादवलाई हातपात गर्दै माइन्युट बूक खोसेर लगेको प्रअ यादवले बताए ।
गत वर्ष चैत महिनामा अभिभावक भेला भई प्रभुराय यादव सर्वसहमत अध्यक्ष बनेका थिए । पूर्वअध्यक्ष यादव र तत्कालीन प्रधानाध्यापक लालबाबूप्रसाद यादवमाथि पोखरी ठेक्का दिंदा र नगर पालिकाबाट विभिन्न शीर्षकमा आएका अनुदान रकम हिनामिना गरेको आरोप लागेको थियो ।
विद्यालय व्यवस्थापन समितिका बहुमत सदस्यहरूले अध्यक्ष पदबाट यादवलाई गत फागुन १ गते हटाएर सो पदमा वडाध्यक्ष नरेशप्रसाद यादवलाई चुनेका थिए ।
सोही विषयको माइन्युट बूक प्रअलाई हातपात गर्दै पूर्वअध्यक्ष यादवले खोसेर लगेका हुन् । घटना पश्चात पूर्वअध्यक्ष यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध प्रअ यादवले अभद्र व्यवहार मुद्दा दर्ता गराएको छ ।




