रौतहट । रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
ईशनाथ ५ को श्री आधारभूत विद्यालयको दुई कोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर र मूल्याङ्कन विपरीतको काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज गुप्तासहित नगरपालिकाका तत्कालीन इन्जिनियर सत्यपाल सौरभ र विद्यालयका तत्कालीन प्रधानाध्यापक मुहमद समिम अख्तरविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
तत्कालीन इन्जिनियर सौरभले कार्यसम्पादन प्रतिवेदनमा सम्झौताको दरभन्दा बढी कायम गरी ८६ हजार ६ सय ४७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
यसैगरी अन्तिम भुक्तानीका लागि प्राविधिकबाट तयार गरिएको नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा १४ लाख ३५ हजार ९ सय खर्च भएको देखिएपनि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्ताले २ लाख ३५ हजार ८ सय ९५ रुपैयाँ बढी भुक्तानी गरेको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार तत्कालीन प्रधानाध्यापक अख्तरले १३ लाख ५३ हजार ५० खर्च देखाउनु पर्नेमा १६ लाख ५३ हजार ५० रुपैयाँ खर्च लेखेका थिए ।
अख्तियारले इन्जिनियर सौरभसँग ८६ हजार छ सय ४७ रुपैयाँ, प्रमुख प्रशासकीय अधिकृत गुप्तासँग २ लाख ३५ हजार ८ सय ९५ र प्रधानाध्यापक अख्तरसँग ३ लाख ३ हजार ७ सय ९७ रुपैयाँ बिगो माग गरेको छ ।






