सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाकी तत्कालीन उपमेयर रेणुकादेवी काफ्लेसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूले सम्झौता अनुसार खोला नियन्त्रणका लागि तटबन्ध निर्माणको काम नगरी आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन उपमेयर काफ्ले, सदस्य बेदकुमारी बलम्पाकी र लक्ष्मी कुमर तथा वडा नं १ का वडाध्यक्ष कुमार लामाले लखनदेवी खोला नियन्त्रण तथा स्पर निर्माणको कार्य सम्पन्न नहुँदै भएको भनी भुक्तानी दिन सिफारिस गरेका थिए ।
त्यस्तै, हरिपुरका तत्कालीन निमित्त प्रमख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेल, इन्जिनियर रञ्जित साह र सव–इन्जिनियर सञ्जीव चौधरीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
उनीहरूले तोकिएको भन्दा कम क्षेत्रफल र कमसल तटबन्ध बनाएर ८५ लाख १८ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारले दाबी गरेको छ ।
सोही तटबन्ध निर्माणका लागि बनेको हरिपुर १ नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शमशेरबहादुर बस्नेत, सचिव इन्द्रबहादुर घिसिङ र कोषाध्यक्ष निर्मलाकुमारी देवीविरुद्ध पनि मुद्दा दायर भएको छ ।
उनीहरूले खोलामा तटबन्ध नसकिंदै सकिएको भनी प्रतिवेदन बनाएको, बिल भर्पाई बनाएको, हाजिर हिनामिन गरेको र सम्झौता विपरीतको कार्य गरेको अख्तियारले जनाएको छ ।
उनीहरू विरुद्ध ८५ लाख १८ हजार रुपैयाँ जरिवाना गरी बिगो असुलउपर गर्नुपर्ने अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।






