काठमाडौं । क्यास एप एप्लिकेसन मार्फत हारजीत हुने गरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही ब्रम्हपुरी नगरपालिका ७ घर भई काठमाडौं टोखा नगरपालिका ६ मिलनटोल बस्ने २४ वर्षीय सुनिल ठाकुर, २६ वर्षीय रामबीर ठाकुर र मोरङ बेलबारी नगरपालिका १० घर भई काठमाडौं टोखा नगरपालिका ६ भत्केपुल बस्ने २२ वर्षीय प्रमिस श्रेष्ठ रहेका छन् ।
यस्तै काठमाडौं बुढानिलकण्ठ नगरपालिका १२ तेन्जीङचोक बस्ने २२ वर्षीय प्रसय जमकट्टेल, झापा गौरादह नगरपालिका घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका १२ बालुवाखानी बस्ने २२ वर्षीय दिप्नोज खत्री र काठमाडौं महानगरपालिका १४ कुलेश्वर बस्ने २९ वर्षीय स्वराज श्रेष्ठ पनि पक्राउ परेका छन् ।
विभिन्न खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले अनलाइन गेम खेलाउन प्रयोग भएका ल्यापटप ५ थान, मोबाइल ८ थान, सिपियु १ थानसहित उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




