जनकपुरधाम । कारले मोटरसाइकललाई ठक्कर दिँदा धनुषामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार महोत्तरीको लोहारपट्टी नगरपालिका ४ बस्ने करिव २५ वर्षका रामबाबु साह रहेका छन् ।
आज बिहान सवा ६ बजेतिर लक्ष्मीनियामा प्रदेश २-०२-००४ प ६९४७ मोटरसाइकललाई बीएल १२ सी ०९४४ भारतीय नम्बरको कारले पछाडिबाट साहलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारका क्रममा आज बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुर्घटनापछि कार चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




