काठमाडौं । विशेष अदालतले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित ६ जनाले भ्रष्टाचार गरेको ठहर्याएको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राईको इजलासले मुद्दामा आंशिक ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ चैत १७ मा भ्रष्टाचार गरेको भन्दै गाउँपालिकाका तत्कालीन अध्यक्षसहित २७ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । मुद्दामा आरोपित २२ जनालाई भने अदालतले सफाइ दिएको छ ।
पालिकाका पूर्वअध्यक्ष खड्कालाई ६ महिना कैद र १ करोड ९९ लाख ३२ हजार रुपैयाँ जरिवाना तोकिएको छ । त्यसैगरी तल्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईंको हकमा जनही तीन महिना कैद र ६३ लाख १० हजार रुपैयाँ जरिवाना ठहर भएको छ ।
लेखापाल दुर्गाबहादुर तामाङ र नर्खे लामालाई जनही तीन महिना कैद र ३१ लाख ५५ हजार रुपैयाँ जरिवाना ठहर भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।
सोही मुद्दामा पाइक कन्स्ट्रक्सन प्रालि सञ्चालक अमृतबहादुर तामाङलाई तीन महिना कैद, ४२ लाख ३५ हजार रूपैयाँ जरिवाना तोकिएको छ । तामाङबाट बिगो रकम असुल्न पनि भनिएको छ । पालिकाको बिजुलीकोट, नागदह, दुरागाउँमा विद्युतीकरण गर्न सामान खरिद गर्ने निर्णय भएको थियो ।
पालिकाका तत्कालीन अध्यक्ष खड्कासहितको मिलेमतोमा खरिद समिति नबनाई, टेन्डर सूचना जारी नगरी र आफूअनुकूल उपभोक्ता समिति गठन गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।
आव २०७४/७५ र २०७५/७६ मा लिखु तामाकोसी गाउँपालिकाका केन्द्रीय प्रसारण लाइनवरपरका बस्ती र केही वडामा विद्युतीकरण गर्दा कार्यक्षमता नभएका उपभोक्ता समितिसँग सम्झौता गरिएको अख्तियारको दाबी थियो ।




