काठमाडौं । डिएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालत काठमाडौंका न्यायाधीशहरू टेक नारायण कुँवर, तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले केसीलाई दोषी ठहर गरेको अदालतले जनाएको छ । विशेष अदालतले मंगलबार केसीलाई २ वर्ष कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।
केसीलाई यसअघि नै गृह मन्त्रालयले विभागीय कारवाहीस्वरुप बर्खास्त गरिसकेको छ । रुपन्देहीको इलाका प्रहरी बुटवलमा प्रमुख भएका बेला केसीले बरामद भएको सुन फिर्ता गर्ने क्रममा घुस मागेका थिए । २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका उनले सुन फिर्ता लगेको कागज गराए पनि सुन फिर्ता नगरी आफैँसँग राखेका थिए ।
त्यस क्रममा उनले २ जनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको थियो । अख्तियारले १८ लाख रुपैयाँ बिगो राखेर उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा हालेको थियो । उनीविरुद्ध गत भदौ १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।




