काठमाडौं । भ्रष्टाचार मुद्दामा विशेष अदालतले एक प्रधानाध्यापकलाई सजाय सुनाएको छ । आइतबार कास्कीको माछापुच्छे गाउँपालिकास्थित श्री कैलाश टेत्सुओ प्राथमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेललाई सजाय सुनाएको हो ।
विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार प्रधानाध्यापकलाई ६ महिना कैद र तीन लाख १२ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको हो । विद्यालयलाई हानी नोक्सानी गराए बराबरको रकम असुल उपर समेत हुने सजाय निर्धारण भएको विशेषले जनाएको छ ।
विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले यस्तो फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अनुसन्धान गरी २८ जेठ २०८० मा विशेषमा मुद्दा दायर भएको थियो ।
आर्थिक वर्ष ०६७/६८ मा जिल्ला शिक्षा कार्यालयबाट उक्त विद्यालयको शौचालय निर्माणका लागि निकासा भएको दुई लाख रुपैयाँ प्रधानाध्यापक पौडेलले हिनामिना गरेका थिए । साथै विद्यालयको नाममा रहेको अक्षय कोषको एक लाख १२ हजार समेत उनले मासेको पुष्टि भएपछि विशेषले सजायमा सुनाएको छ ।
पौडेलले शौचालय निर्माणका लागि आएको रकम झिके पनि निर्माणका लागि कुनै पहल गरेका थिएनन् । पटक पटक शिक्षा कार्यालयले उक्त रकम बेरुजु खातामा दाखिल गर्न भनेकोमा उनले दाखिल समेत नगरेको पाइएको थियो ।




