काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
सोमबार कोशी प्रदेश र गण्डकी देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।
यस्तै, मंगलबार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




