सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिका प्रमुख (मेयर) भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मेयर भएको अवधिमा ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । थापा प्रमुखको रूपमा कार्यरत रहेको अवधिमा ७ करोड ४६ लाख ५० हजार २०१ रुपैयाँ आम्दानी देखिएकोमा १३ करोड २० लाख ३ हजार ३९१ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको सजाय साथै सम्पत्ति जफत तथा असुल उपर हुन माग दाबी गरिएको अख्तियारले जनाएको छ ।
उनीसँगै उनकी श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइ बुहारी द्वारीका राउतविरुद्ध पनि मुद्दा दायर गरेको छ । सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्रै उनीहरूविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ ।
बागमती नगरपालिकाका मेयर भरत थापा विवादै विवादले घेरिएका छन् । उनी सुधारिएको चुलोदेखि सडक पिचको ठेक्कासम्ममा जोडिँदै आएका छन् । ढाटका कर्मचारी हुँदै क्रसर अनि निर्माण सम्बन्धी ठेक्कामा प्रवेश गरेका उनी पछिल्लो समय बागमती माछा पोखरीलाई भरत ताल बनाएर विवादमा आएका छन् ।
राष्ट्रिय जनमोर्चा हुँदै माओवादीमा पुगेका उनीविरुद्ध अख्तियारले विशेषमा मुद्धा चलाएको हो । यता भरतलाई महान नेता बनाएर चलचित्र मेयर बन्दैछ । निर्देशक दिपेन्द्र के खनालले यो चलचित्र बनाइरहेका छन् ।




