सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीको सर्लाही जीवन अस्पताल सञ्चालन गर्दै आइरहेका एक जोडि आफु कोरोना संक्रमित भएपनि अरु कोरोना संक्रमितको उपचारमा लागि रहेका छन् ।
गत वर्ष कोरोना भाइरसको पहिलो लहर फैलिँदै गर्दा सरकारले लकडाउन गरेपछि अलपत्र परेका पैदलयात्रीलाई निःशुल्क खाना खुवाउन खटिएका ती एक दम्पती यस पटकको संकटमा भने संक्रमितको उपचारमा जुटेका छन् । उनीहरु आफैँ संक्रमित हुँदासमेत बिमारीको हेरचाहमा अहोरात्र खटिएका छन् ।

सर्लाही जीवन अस्पताल सञ्चालन गर्दै आएका अमृता उप्रेती र अर्जुन मैनाली अहिले आफुहरु नै कोरोना संक्रमित छन् । बिरामीको उपचारमा खटिँदा खटिँदै आफूहरू समेत कोरोना संक्रमित भएको अमृताले बताउनु भयो ।
अमृताका अनुसार उनीहरूकै कारण छोरा, छोरी, दाजु, बुबा सहित पुरै परिवार संक्रमित भएका छन् । उप्रेती परिवारले निर्माणधीन अस्पताल भवन आइसोलेसनका रूपमा प्रयोग गर्न हरिवन नगरपालिकालाई दिएका थिए । नगरले भवनमा ६० बेडको अक्सिजनसहितको आइसोलेसन तयार गरेको जनाएको थियो ।
आइसोलेसन स्थापना गरेको सुनेपछि वैशाख २४ देखि नगरका संक्रमितहरु उपचारका लागि आउन सुरु गरेका अमृताका श्रीमान अर्जुनले बताउनुभयो । तर, नगरपालिकाले बिरामीको उपचार भने अहिलेसम्म नगरेको उनिहरुको भनाई छ । बिरामीको उपचारमा नगरपालिकाले बेवास्ता गरेपछि उनीहरू आफैँ उपचारमा खटिएका छन् ।

‘नगरपालिका तर्किरहेको छ, बिरामी बेडमा लम्पसार परेपछि हामीले कसरी फर्काउनु , बिरामी मरेको हेरेर बस्न सकिएन र उपचारमा खटिएका छौँ ’ अर्जुनले बताउनुभयो ।
दुवै जना स्वास्थ्यकर्मीहरुले सचालन गरेको निजि अस्पतालले कोरोना संक्रमितको उपचार निस्वार्थ भावले गरि रहँदा नगरपालिका मौन बस्दा आफुहरुलाई आश्चर्य लागेको अमृताले बताउनुभयो ।
अहिले उनीहरूको निगरानीमा हरिवन, बागमती, लालबन्दी लगायत स्थानबाट आएका १९ जना संक्रमित उपचारत अवस्थामा छन् । गम्भीर समस्या भएका आठ जना उपचार पश्चात् घर फर्किसकेका अस्पतालले जनाएको छ ।
सामान्य स्वास्थ्य सुरक्षाको सामग्री समेत नहुँदा असुरक्षित ढंगले बिरामीको उपचार गरि रहनु परेको अमृताले दुखेसो छ । उपचारत बिरामीका लागि बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापाले अक्सिजन सहयोग गर्नु भएको थियो । अहिले त्यहि अक्सिजन प्रयोग भईरहेको छ ।

निकै अनुरोधपछि हरिवन नगरले पनि चारवटा खाली सिलिन्डर दिएको छ । आफैँ संक्रमित भएका कारण बिरामीको हेरचाह गर्न निकै समस्या हुने गरेको छ । तर, बिरामीहरू अन्त जान नमानेको अमृताले बताउनुभयो । थप भर्ना नलिने भनेर फर्काउँदा समेत बिरामीहरू अस्पतालको गेटमा बस्ने गरेको छन्, उनले भनिन् ।
बिरामी बढेपछि डाक्टर र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाईलाई निकै अनुरोध गरे पनि बेवास्ता गरेको उनको भनाइ छ ।
नगरपालिकाले भने अस्पताल राख्नुपर्ने बिरामीलाई आफ्नै स्वास्थ्य कार्यालयस्थित आइसोलेसनमा राखेको जनाएको छ । अस्पताल सञ्चालक अमृत सिएमए हुन् भने उनका श्रीमान् अर्जुन ल्याब टेक्निसिएनसँगै जुनिएर इन्ट्रन हुन् ।






