सिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत र सशर्त शिक्षण अनुदानका शिक्षकहरुले ९ महिनादेखि तलव पाउन सकेका छैनन् । आन्तरिक स्रोतको कमी र कर्मचारी र जनप्रतिनिधिहरुको आन्तरिक समस्याका कारण करिव २० जना शिक्षकहरुले तलव भत्ता पाउन नसकेका हुन् ।
नगरपालिका अन्र्तगत निजी स्रोतमा सञ्चालित माध्यमिक विद्यालय र आधारभुत विद्यालयका शिक्षकले करिव एक वर्षदेखि नगरपालिकाले तलव भत्ता नपठाएको प्रधानाध्यापकहरुको गुनासो छ । उनीहरुले करिव एक वर्षबाट सशर्त शिक्षण अनुदान र निजी स्रोतका शिक्षकको तलव नआएको गुनासो गरेका छन् ।
आधारभुत विद्यालय, धनगढीमाई १३ कैलाशपुर भर्लेनीका प्रधानाध्यापक अमर कुमार योञ्जनले आफ्ना विद्यालयमा कार्यरत दुई जना शिक्षकको तलव भत्ता बापत रकम एक वर्षदेखि विद्यालयको खातामा नआएको बताए ।
उनले भने, ‘उहाँहरुको तलव भत्ता एक वर्षदेखि आएको छैन, हामीले विद्यालयको स्रोतबाट थोरै पेश्की दिएका छौं ।’ जनता आधारभुत विद्यालय, धनगढीमाई १ बाखैरका प्रधानाध्यापक विनोद कुमार साहले पनि निजी स्रोतका शिक्षकको तलवभत्ता नगरपालिकाले यस आर्थिक वर्षमा एक पटक पनि नपठाएको बताए ।
उनले भने, ‘सशर्त शिक्षण अनुदान र वडा कार्यालयको अनुदानका दुई जना शिक्षकको तलव पालिकाले निकाशा दिएका छैन । हामीले शिक्षकहरुलाई विद्यालयको आन्तरिक कोषबाट तलव दिइरहेका छौं । पालिकाले पनि अब चाँडै पठाउने भनेको छ ।’
‘सशर्त शिक्षण अनुदान र निजी स्रोतका शिक्षकको तलव भत्ताबापतको रकम लामो समयदेखि गएको छैन, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिनारायण सिंहले भने, ‘मैले निजी स्रोत र सशर्त शिक्षण अनुदानमा कार्यरत शिक्षकहरुको तलवभत्ताको सम्पूर्ण कागजात लेखा शाखामा बुझाई सकेको छु, केहिदिन अघिसम्म सो रकम गएको छैन भन्ने जानकारी छ । तर, हिजो आज गएको भए मलाई जानकारी भएन, म आज विदामा छु ।’
नगरक्षेत्रभित्र ७ जना कम्पूटर शिक्षकसहित करिव २० जना निजी स्रोतमा कार्यरत शिक्षकलाई पछिल्लो नौं महिनादेखि नगरपालिकाले तलव भत्ता पठाएका छैनन् ।
लेखा अधिकृत पुरुषोतम कुमार प्रसादले आन्तरिक स्रोतबाट तलव व्यवस्थापन गर्नुपर्ने शिक्षकहरुको तलव सुवुधा जान सकेको थिएन, भर्खरै बजेट संशोधन गरीएको छ । अब कार्यालय प्रमुख आउनेदिनै पाउनु पर्ने सबै विद्यालयमा रकम जान्छ ।’
‘पहिला स्रोत व्यवस्थापन हुन सकिरहेको थिएन, स्रोत व्यवस्थापन भईसकेपछि कार्यालय प्रमुख सरुवा भएर जाने र आउने प्रकृया हुन थालेकाले ढिलो भएको हो अव चाँडै जानुपर्ने सवैको सेवा सुविधा जान्छ ।’ लेखा अधिकृत प्रसादले भने । अधिकृत प्रसादले भने, ‘अहिले म पनि विदामा छु, हाकीमसाव पनि विदामा भएकाले कार्यालय प्रमुख आएकैदिन रकम जान्छ ।’
यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गरेपनि उनी विदामा रहेकाले सम्पर्क हुन सकेन । नगर प्रमुख शिवशंकर महतोले ‘मैले जानकारी पाएसम्म सवै शिक्षक कर्मचारीको तलव चैत मसान्त सम्मको गई सकेको हुनुपर्छ । निजी स्रोतकाहरुको पनि दशैंसम्मको तलव खाएको छ। नगएको भए तत्काल पठाउन लाउँछु ।’
उनले यो प्रशासनको काम भएकाले पनि आफूलाई सबै जानकारी नहुने बताए । धनगढीमाई नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिहरुको लापरवाहीले कारारका कर्मचारी तथा स्थानिय सेवाग्राहीहरुलाईपनि सास्ती खेप्नु परेको स्थानियहरु बताउँछन् ।




