वीरगंज । गर्मीको कारण पर्सा लगायत तराईका जिल्लाको जनजीवन कष्टकर बनेको छ । दिउँसो चर्को घाम लाग्नुका साथै तातो हावाका कारण पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीको जनजीवन प्रभावित भएका हुन् ।
अत्यधिक गर्मी र तातो हावाले दिउँसो बजारमा मानिसहरूको चहलपहल निकै घटेको छ भने कार्यालयहरूमा समेत सेवाग्राहीको उपस्थिति पातलिएको छ । वीरगंज, पोखरिया, जीतपुर, निजगढ, लालबन्दी लगायतका शहर बजार सुनसान भएका छन् ।
गर्मीका कारण खेतीपातीको काम प्रभावित भएको छ । दैनिक ज्याला मजदूरी गर्ने मजदूर र किसानहरूलाई घरभित्रै थन्किएर बस्नु परेको छ । कोहि दिनभरि सुतेर र कोहि छहारीमा साथीसँग गफ गरेर समय बिताइरहेका छन् ।
आर्थिक मन्दीका कारण व्यापार व्यवसाय नभएर चिन्तित बनेका व्यवसायीहरू गर्मीले गर्दा बजारमा मानिसको चहलपहल घटेपछि थप मारमा परेका छन् । बैंकमा वित्तीय कारोबारमा कमी आएको छ ।
मौसममा परिवर्तन आएसँगै मानव स्वास्थ्यलाई पनि असर गरेको छ । उच्च तापक्रम र तातो हावा (लू) का कारण बालबालिका तथा वृद्धवृद्धाहरू बिरामी पर्न थालेका छन् ।
चिकित्सकका अनुसार तराईमा पानी नपर्दा बढेको गर्मीका कारण शरीरमा घाउ खटिरा, आउमासी, टाइफाइड, रुघाखोकी, झाडापखाला, अपच लगायतका रोगीहरू बढेको छन् । चर्को घाममा बाहिर ननिस्किन र निस्किनु परे मास्क लगाउन, प्रशस्त पानी पिउन, बाहिरका खानेकुरा नखान र सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।




