धनुषा । धनुषाको शहीदनगर नगरपालिकामा नगर प्रमुख दिनेश प्रसाद यादवविरुद्ध आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । वडा नम्बर ६ का वडाध्यक्ष उमेश निरालाकै नेतृत्वमा नगर प्रमुख यादवविरुद्ध प्रदर्शनमा उत्रेकाहरु नगरपालिकामा तोडफोडको प्रयास गर्दा प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।
सो क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन एकसेल अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले फालेको ढुङ्गा लागेर दुई जना प्रहरी घाइते भएका छन् । प्रहरीको टाउँकोमा ढुङ्गा हानिएको छ । अहिले त्यहाँको अवस्था सामान्य भइसकेको छ ।
नगर प्रमुख यादवले भ्रष्टाचारमा लिप्त भएको र एकलौटी गरेको भन्दै वडाध्यक्ष निराला आन्दोलन सुरु गरेका हुन् । उनले सयौं महिलालाई समेत आन्दोलनमा उतारेका थिए । नगर प्रमुख यादव र आन्दोलनमा उत्रेका वडाध्यक्ष निराला दुवै जनता समाजवादी पार्टी (जसपा) बाटै निर्वाचित हुन् ।




