वीरगन्ज । पर्सा प्रहरीले बिदाको दिन अनुमति विना चलाइएको पाँच सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ । मंगलबार सार्वजनिक बिदा रहेपनि विना इजाजत गुडाएको आरोपमा प्रहरीले ती सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।
मालपोत कार्यालय सर्लाहीका अधिकृत उमेश कुमार कुश्वाहा सवार बा १ झ ५८३८ नम्बरको गाडी, विद्युत् प्राधिकरणको बा १ ञ २१५८ नम्बरको गाडी, परवानीपुर गाउँपालिकाको ना १ ब २५५९ नम्बरको मोटरसाइकलसहित पाँच वटा सरकारी सवारी साधन नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।
सरकारी गाडीको दुरुपयोग बढेको गुनासोपछि बिदाका दिन विना अनुमति चलाउने सरकारी गाडी नियन्त्रणमा पर्सा प्रहरीले कडाइ गरेको हो । यसका अतिरिक्त ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई प्रहरीले कारबाही गरेको पर्सा प्रहरीले जनाएको छ ।




