सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका ५ धोवीनियामा आगलागी भएको छ । आगोले जलेर चार घर नष्ट भएको छ । स्थानीय गिरीधारी यादव, शिवधारी यादव, किशोरी बैठा र मोहावी रायको घर आगोले जलेर खरानी भएको हो ।
यस्तै अन्य केहि घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । स्थानीयका अनुसार शिवधारी यादवको छोरीको आज विवाह हुँदै थियो । सोही क्रममा एक्कासि आगलागी भएको हो ।
आगलागीबाट विवाहका लागि ल्याएको लत्ता कपडा, अन्नपात, भाँडावर्तन लगायत सामग्री जलेर नष्ट भएको छ । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सहयोगमा आगो निभाइएको छ ।
आगो निभाउन वारुणयन्त्र प्रयोग गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । आगलागीबाट भएको क्षतिको प्रहरीले विवरण संकलन गरिरहेको छ ।




