महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीका आगलागीबाट पीडित स्थानीयले नागरिकहरु प्रति प्रदेश र संघ सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । उनीहरुले संघ र प्रदेश सरकारले राहतको घोषणा चाँडोभन्दा चाँडो गर्नुपर्नेमा बेखबर हुनु शोभनीय नभएको बताए ।
नागरिकहरु आगलागीबाट पीडित बन्दा पनि प्रदेश र संघ सरकारले कुनै पनि राहतको घोषणा नगर्नु दुःखको कुरा भएको बताए । गत बुधबार महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीमा आगलागी हुँदा १ सय ५० भन्दा बढी घर जलेर नष्ट भएका थिए । मध्यान्ह १२ बजे सल्केको आगो साँझ ६ बजे नियन्त्रणमा आएको थियो ।
आगलागीबाट घरबार बिहीन भएकाहरु त्रिपालमुनि रात काट्न बाध्य छन् । उनीहरु गर्मी समयमा घरभित्रै बस्नुपर्ने बेलामा घाममा बस्नु परेको र यसले अन्य रोगको जोखिम बढाउनेमा चिन्तित छन् । साथै प्रदेश र संघ सरकारले आगलागी पीडितका लागि राहत घोषणा नगर्दा राज्य छ भन्ने महशुस गर्न नसकेको बताए ।
आगलागी भएको बस्तीमा अवलोकन एवम् निरीक्षणका लागि पुगेका नेपाली कांग्रेकका सहमहामन्त्री महेन्द्र यादवले प्रदेश र संघीय सरकारले चाँडोभन्दा चाँडो राहतको घोषणा गर्नुपर्नेमा बेखबर भएको बताए । उनले जनताको दुःखमा सरकार बेखबर हुनु दुःखद् कुरा भएको बताए । उनले प्रदेश र संघ सरकारले कुनै राहत घोषणा नगरेको बताए ।
आगलागी पीडित फूलदेवी पासवानले आगोका कारण सबै जलेर नष्ट भएको र लगाउने कपडा र खानेकुरा केहि नरहेको बताइन् । उनले आगलागीका कारण आफूले पालिरहेको गाई मरेको र अन्य केहि नबचेको बताइन् । त्यस्तै अर्का आगलागी पीडित मोहम्मद शेखले गर्मीको समयमा त्रिपाल टाँगेर बस्नुपरेको र यसले बालबालिकाहरुमा रोगको जोखिम बढाउने बताए ।
उनले खानेकुराहरुको पनि अभाव हुँदै गएको र सरकारले चासो नदेखाएको गुनासो गरेका छन् । यता मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले आगलागी भएको दिनदेखि नै पीडित परिवारलाई राहत उपलब्ध गराउन लागिपरेको बताए । उनले नगरपालिकाले चिउरा, चिनी, त्रिपाल, बाल्टिन र जग उपलब्ध गराएको बताए ।
उनले बाल्टिन र जग नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको र बिस्कुट र आँटा लगायतका खानेकुराहरु वितरण गरिरहेको बताए। पीडितलाई तत्काल पर्ने हरेक किसिमका सहयोग उपलब्ध गराइरहेको बताए । चामल, दाल र पैसा उपलब्ध गराइने पनि बताए। प्रदेश र संघ सरकारलाई राहतको प्याकेजका लागि सहयोग गर्न पत्राचार गरिएको बताए । उनले पीडितलाई बास र भोजनको समस्या सबैभन्दा ठूलो रहेको बताए ।






