गोरखा । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा परेर एक जना गम्भीर घाइते भएकी छन् ।
गोरखा सदरमुकामबाट बाह्रकिलोतर्फ जाँदै गरेको ग १३ प ९३२५ नम्बरको मोटरसाइकल गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा नगरपालिका ११ स्थित चौधकिलो भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परी मोटरसाइकल चालक सिरानचोक गाउँपालिका ७ नयाँसाँघु बस्दै आएका ४५ वर्षीय अशोक गहतराजको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भएर सडकबाट झन्डै २० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकलको पछाडी बस्ने गहतराजकी श्रीमती ३५ वर्षीया सीता गहतराज घाइते भएकी छन् । उनको गोरखा अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




