जनकपुरधाम । प्रदेश २ को नीति तथा कार्यक्रममाथि जारी छलफलमा प्रदेशसभा सदस्यहरु प्रदेश सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । शनिबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रम, बजेट कार्यान्वयनसहित कोभिडको समयमा प्रदेश सरकारले गरेको बेवास्ताको कडा आलोचना गरेका छन् ।
प्रदेशसभा सदस्य किशोरी साह कमलले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको १० प्रतिशत मात्रै काम पनि पूरा गरेर देखायो भने आफूले राजनीति नै छोड्ने चुनौती दिएका छन् । प्रदेशसभा बैठकमा बोल्दै साहले सरकारले नीति तथा कार्यक्रम ल्याए पनि त्यसमाथि कार्यान्वयन नहुने गरेको आरोप लगाउँदै यस्तो चुनौती दिएका हुन् ।
प्रदेशसभा सदस्य दिलीपकुमार साहले सरकारी अस्पतालका चिकित्सकमाथि ‘लगाम लगाउन’ प्रदेश सरकारसँग माग गरेका छन् । उनले कतिपय चिकित्सक जागिर सरकारीमा खाए पनि ड्युटी भने निजीमा गरिरहेको भन्दै कडाइ गर्न माग गरेका हुन् ।
सरकारी अस्पतालको बेथिति बारे उल्लेख गर्दै उनले कडा अनुगमन गर्नुपर्ने बताए । सरकारी अस्पतालमा सेवाग्राहीले औषधि नपाएको गुनासो बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सरकारी अस्पतालका कर्मचारीले औषधि हुँदाहुँदै पनि सेवाग्राहीलाई दिन नमानेको उनको भनाइ छ ।
प्रदेशसभा सदस्य उपेन्द्र महतोले सरकारको यही रवैया रह्यो भने प्रदेश २ का मन्त्रीहरुलाई जनताले अब लखेट्ने चेतावनी दिए । कोरोनाको पहिलो र दोस्रो लहरमा युवा तथा वृद्धको मृत्यु भए पनि तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने भएकोले त्यसको तयारी नगरे जनता झण्डाबाला गाडीलाई लखेट्ने महतोले बताए ।
सांसद महतोले तेस्रो लहर आउने निश्चित रहेकोले त्यसको अहिले तयारी नगर्ने र आइसकेपछि भ्रष्टाचार गर्न कै लागि पर्खने भनी प्रश्न गरे । नियत साफ भए अहिले नै कोरोनाको तयारी गर्न प्रदेश सरकारसँग माग गरे । नेपालभन्दा पहिला नै भारतमा प्रकोप आउने भएकोले त्यसको पूर्वतयारीमा जुट्नु अहिलेको आवश्यकता रहेको बताए ।
प्रदेशसभा सदस्य मञ्जु यादवले प्रदेश २ को मन्त्रीमण्डलमा महिलाहरुको न्यून सहभागिता रहेकोमा आक्रोश पोखिन् । उनले हरेक भाषणमा महिला सहभागिताको भाषण ठोक्ने सरकार नै महिला प्रति अनुदार देखिएको आरोप लगाइन् ।






