रौतहट । रौतहटको राजदेवी नगरपालिका स्थित आज बिहान एक घरमा भएको आगलागीबाट झण्डै १२ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । राजदेवी ९ ब्रहमपुरी कालिमन्दिर बस्ने बच्चा सिंहको जस्ताले छाएको ४ कोठे पक्की घरमा खाना पकाउने चुलोबाट सल्किएर आज बिहान करिब पौने २ बजे अचानक आगलागि भएको थियो ।
आगलागीबाट घरमा रहेको मोटरसाईकल १ थान, साईकल ३ थान, १ लाख बराबरको लत्ताकपडा, गहुँ २५ सय मिलिग्राम, धान १ हजार किलोग्राम, चामल १ हजार किलोग्राम, २ लाख बराबरको सुन चँदीको गहना,नगद एक लाख, घर १ वटा ४ लाखगरी कुल ११ लाख ७३ हजार पाँच सय बराबरको धनमाल जलेर नष्ट भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।
घटना लगत्तै सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलविछवाबाट सई सुवाष खत्रीको कमाण्डमा ११ जना ,प्रहरी चौकी लक्ष्मीपुर बेलविछवाबाट असई हृदेश राउतको कमाण्डमा ४ जना, गौर नगरपालिकाको दमकल र स्थानियको सहयोगमा उक्त आगो बिहान साढे २ बजेको समयमा पुर्ण रुपमा नियन्त्रण हुँदा ठूलो क्षतीबाट जोगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनामा मानविय तथा पशु चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । गर्मीसंगै तातो हावा चल्न सुरुभए यता पछिल्लो समय जिल्लामा दैनिकजसो भईरहेको आगलागीबाट दर्जनौं घर गोठ, लता कपडा, अन्नपात जलेर करोडौं बराबरको क्षती भएको अनुमान गरिएको छ ।






