काठमाडौं । असार १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खाली गर्ने क्रममा बागमती, मेलम्ची, सिन्धु र ग्याल्थुम खोलामा पानीको बहाव बढ्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले सूचना जारी गर्दै नदी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
१ असारदेखि सुरुङ परीक्षणको काम सुरुवात गरिने भएकाले खानेपानी उपभोक्ताका लागि भने असहज हुनेछ । सुरुङ परीक्षणका क्रममा न्यूनतम ४० दिन लाग्ने भएको सो अवधिभर उपभोक्ताको धारामा पानी नआउने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
“सुरुङ परीक्षण अन्तिम चरणमा छ । परीक्षणका लागि खाली गर्न १५ दिन लाग्छ, भित्र पसेर हेर्नुपर्छ, थप १० लाग्छ, अनि फेरि सुरुङमा पानी भर्न १५ दिन लाग्छ,” आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले भने, “त्यसैले कम्तीमा पनि ४० दिन उपभोक्ताको धारामा पानी आउँदैन, हामीले परीक्षणकै क्रममा पानी पठाइरहेका थियौं, तीन महिनाको परीक्षण अवधि समाप्त भएको छ ।”
उनका अनुसार असार १ गतेदेखि सुरुङ खाली गर्र्ने प्रक्रिया सुरु गरिने छ । गत फागुन १० गते पनि सुरुङमा पानी परीक्षण गरिएको थियो । “ठेक्का सम्झौता समापन पनि गर्नुपर्ने बेला भएको छ, त्यसकारण एक पटक सुरूङ परीक्षण जरुरी भएको हो,” पन्तले भने, “अब इञ्जिनियरको टोलीले सुरूङमा केही त्रुटि छन् कि भनेर हेर्नेछन् । त्रुटी भएमा ४० दिनभन्दा बढी लाग्न सक्छ ।”
मेलम्ची खानेपानी आयोजनाका लागि गरिएको ठेक्का सम्झौता अनुसार यदि सुरुङमा समस्या रहेको देखिए निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने प्रावधान छ । “प्राविधिक रुपमा परीक्षणको कार्यविधि छ, त्यही कार्यविधिअनुसार एकपटक परीक्षण गर्न लागेका हौं,” पन्तले भने । अहिले मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर काठमाडौं उपत्यकामा आइरहेको छ ।






