काठमाडौं । तराई मधेशका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । केहि दिनदेखि तापक्रम बढेसँगै लुम्बिनीका तराई भेग र मधेश प्रदेशमा तातो हावाको लहर चलेको छ । जल तथा मौसम विज्ञान विभागले यसअघि नै सूचना निकालेर आजसम्म तातो हावाको लहर चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको थियो । तर भोलिदेखि पनि तातो हावा चल्ने जोखिम कायमै छ ।
भोलिदेखिको अवस्था बारे अध्ययन भइरहेको र आज बेलुकासम्म थप जानकारी दिने विभागले जनाएको छ । भैरहवा, जनकपुर, सिमरा लगायतका ठाउँको तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । तापक्रम बढेर तातो हावा चल्दा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने लगायतका स्वास्थ्य समस्या देखिन सक्छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, घाममा बढी नहिँड्न, हल्का लुगा तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, पटक पटक पानी तथा जुस, सर्वत, पिउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।




