सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका १ स्थित बाराउद्योरण गाउँमा भिषण आगलागी हुँदा करिब ६५ घर जलेका छन् । आज दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिण्डर विस्फोट हुँदा गाउँका करिब ६५ घर जलेको वडाध्यक्ष विकास ठाकुरले जानकारी दिए ।
दिउसो १ बजेतिरबाट सुरूभएको आगो स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बारुणयन्त्र, चापाकलको पानीको सहारामा करिब चार घण्टापछि निभाइएको समेत वडाध्यक्ष ठाकुरले बताए ।
यसैगरी स्थानीय विनय सिंहले एउटा घरमा लोगेको आगो ग्यास सिलिण्डर पड्किएपछि बस्तीमा विस्तार भएको बताए । नगरप्रमुख जवाहरलाल यादवले बाराउद्योरण गाउँमा आगलागीपछि एक सयभन्दा बढी घरमा क्षति पुगेको बताए ।
उनले भर्खरै भित्र्याएको गहुँ लगायत अन्नबाली, लत्ता कपडा जल्नुका साथै धेरै पशुचौपया समेत जलेको र क्षतिको विवरण आइनसकेको बताए । त्यस्तै, सर्लाही प्रहरीका अनुसार आगलागी नियन्त्रणमा आएको र हाल क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जनाएको छ ।




