नवलपरासी । पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । रामग्राम नगरपालिका १६ सबुनीकी ललिता कँहारलाई उनका श्रीमान् जोखन कँहारले गत वैशाख २१ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।
प्रहरीले कँहारलाई सोमबार बिहान ८:३० बजे पाल्हीनन्दन गाउँपालिका ६ पडरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका नवलपरासीले जनाएको छ । श्रीमान् श्रीमतीबीच लामो समयदेखि विवाद रहँदै आएको प्रहरी अनुसन्धानले देखाएको नवलपुरका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिए ।
आठ वर्षअगाडि विवाह भएका उनीहरूको दुई छोरा रहेका छन् । भारतको महारजगञ्ज जिल्लास्थित नौतनवा माइत भएकी ललिताको श्रीमान्सँग ६ महिनाअघि विवाद भएपछि माइतमै बस्दै आएकी थिइन् । पछि उनका श्रीमान् जोखनले सुध्रिने वाचा गरेपछि वैशाख २१ गते श्रीमतीलाई आफ्नै घरमा ल्याएका थिए ।
सोही दिन राति साढे १० बजे श्रीमतीलाई सुत्ने कोठामा धरिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएको आरोप छ । प्रहरीले अभियुक्त कँहारलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।






