धनगढी । कैलालीमा सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका ४ भालुफाटाको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा २५ वर्षीय सुनिल शाहीको शंकास्पद मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय सुखडका डीएसपी दिप्रेन्द्रकुमार पालले सुधार केन्द्रमा बस्दै आएका शाहीले एक तले भवनको छतबाट बुधबार राति हाम फालेको बताए । छतबाट हाम फालेर गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।
शाहीको निधार, गर्धन, कम्मर र दुवै हातमा चोट लागेको देखिएको छ । डीएसपी पालले शाहीले सुधार केन्द्रबाट भाग्ने उदेश्यले भवनको छतबाट हाम फालेको बुझिएको बताउँदै घटना बारे अनुसन्धान जारी रहेको बताए ।
तर, मृतकका परिवारले भने घटनाको प्रकृति हेर्दा शाहीको हत्या गरिएको आरोप लगाएका छन् । लागुऔषध प्रयोगकर्ता रहेका शाहीलाई गत पुसमा परिवारले सुधार केन्द्रमा राखेका थिए ।




