जनकपुरधाम । मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको छ । चालु अर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । साथै आगलागीमा परेर १५ जना बालबालिकासहित १ सय ३९ जना घाइते भएका छन् ।
आगलागीबाट सबैभन्दा बढी धनुषामा ६ जना, सिरहामा ५ जना, रौतहटमा ३ जना, बारामा २ जना, पर्सा, महोत्तरी तथा सर्लाहीमा १/१ जनाको मृत्यु भएको छ । त्यसैगरी आगलागीबाट २ सय ९६ वटा पशुचौपाया जलेर मरेको छ भने १ सय १४ वटा पशुचौपाया घाइते भएको सो कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सुवाचन्द्र बोहोराले जानकारी दिए ।
कार्यालयका अनुसार आगलागीबाट मधेश प्रदेशको आठ जिल्लामा १ हजार १० घरगोठ जलेर नष्ट भएको तथा १ हजार २ सय ६६ वटा आगलागीको घटना भएको छ । आगलागीबाट जलेका १ हजार १० घरगोठ अन्तर्गत कच्ची घर ६ सय ६९, पक्की घर ८८ तथा गोठ २ सय ५३ रहेका छन् ।
प्राप्त विवरणमा सबैभन्दा बढी आगलागीको घटना सिरहामा २ सय २९ वटा भएको तथा सबैभन्दा कम सर्लाहीमा १ सय ११ वटा भएको हो । महोत्तरीमा १ सय ९२ वटा, बारामा १ सय २९, रौतहटमा ८८ वटा, पर्सामा ७५ वटा र धनुषामा २५, सप्तरीमा १ सय ९४ घरगोठ जलेर नष्ट भएको बताइएको छ । प्रदेश प्रहरी कार्यालय अनुसार आगलागीमा रु ९९ करोड ६० लाख ३७ हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको विवरणमा उल्लेख गरिएको छ ।
प्रवक्ता बोहोराका अनुसार चर्कोघाम, गर्मी, तातो हावा , पानीको अभाव, घनाबस्ती तथा चेतनाको कमी र लापरबाहीको कारणले आगालागीको घटनाभएको उल्लेख गर्दे आगलागीबाट सुरक्षित तथा सर्तक रहन सबैलाई आग्रह गरिएको छ । आगलागी पीडितलाई राहतको सहयोग सरकारी तथा गैरसरकारी पक्षबाट भइरहेको पनि बताइएको छ ।






