वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले परित्याग गरेका छन् । सरावगीले गत बुधबार नै एमालेको साधारण सदस्य समेत नरहने गरि एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई राजिनामा पत्र पठाएको भएपनि उक्त राजीनामा पत्र शुक्रबार मात्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
नेकपा एमालेका केन्द्रीय परिषद् सल्लाहकार सदस्य रहेका सरावगीले एमाले पार्टीमा आफूलाई कुनै भूमिका नदिइएको, निष्क्रिय बनाएर राखिएको भन्दै एमालेबाट राजीनामा दिएको जनाएका छन् । यसपछि आफू कुनैपनि दलमा नलाग्ने र स्वतन्त्र रुपमा समाजसेवामा लाग्नेपनि उनले बताएका छन् ।
यद्यपि उनले कुनै दलमा नलाग्ने बताएपनि उनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा फेरि फर्कने चर्चा सर्वत्र छ । सरावगीले यसअघि गत बुधबार नै आफूले एमाले छाड्ने मनशाय बनाएको बताएका थिए ।
२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट वीरगन्ज महानगरको मेयरमा निर्वाचित भएका सरावगी गत स्थानीय तह निर्वाचनभन्दा पहिले २०७८ साल फाल्गुन २८ गते जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए ।
गत निर्वाचनमा सरावगी एमालेबाटै वीरगन्ज महानगरको मेयरमा चुनाव लडेर पराजित भएका थिए । त्यसपछि उनलाई एमालेले २०७९ साल असार २७ गते एमालेको केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा मनोनित गरेको थियो ।




