काठमाडौं । कास्की पोखरा महानगरपालिका ४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवम् ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराको पत्र जाहेरीको आधारमा कुल बिगो १ अर्ब ५४ करोड १५ लाख ८ हजार १४२ रुपैयाँ ८५ पैसा अपचलन तथा हिनामिना गरेको आरोप छ । सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गरी दिन सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराले २०८१ जेठ १ गते प्रहरीलाई पत्र पठाएको छ । पत्र प्राप्त भएलगतै उनीहरुलाई प्रहरीले कास्कीका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा निवर्तमान अध्यक्ष पोखरा महानगरपालिका ४ गैह्रापाटनका ६६ वर्षीय निदेश प्रसाद कोइराला, अध्यक्ष पोखरा महानगरपालिका १४ चाउथेका ४३ वर्षीय शंकर कार्की रहेका छन् । यस्तै सहकारी व्यवस्थापक पोखरा ११ रानीपौवाकी ३६ वर्षीया निरु थापा केसी र कर्मचारी प्रमुख पोखरा २७ अर्चलेका ३७ वर्षीय सुरेन्द्र मणी पौडेल पनि पक्राउ परेका छन् ।
यस्तै, कानुनी सल्लाहकार पोखरा १३ आर्वा स्थायी ठेगाना भई हाल १२ ढिकालेथरका ५३ का ईन्द्र प्रसाद बराल, कोषाध्यक्ष पोखरा ३० शिशुवाका ५२ वर्षीय कुलदिप भट्टराई, कर्जा अधिकृत शिशुवा कै ३० वर्षीय सुनिल थापा र शेयर सदस्य एवम् सल्लाहकार पोखरा ८ नयाँबजारका ६९ वर्षीय मानबहादुर गुरुङ रहेका छन् ।




