रौतहट । वनबाट हुने काठ चोरी तस्करीमा भारतीय नम्बर प्लेटका सस्ता र पुराना गाडीको प्रयोग हुने गरेको पाइएको छ । डिभिजन वन कार्यालय रौतहटले गत आइतबार भारतीय नम्बर प्लेटको एक स्कार्पियो भित्र तीन थान गोलिया बरामद गरेको थियो ।
यसभन्दा अघि पनि भारतीय नम्बर प्लेटकै स्कार्पियो गाडी र काठ बरामद भएको थियो । रौतहटको राष्ट्रिय वन क्षेत्र तथा सामुदायिक र साझेदारी वन भित्र काठ कटान गरेर तस्करी गर्नका लागी भारतीय नम्बर प्लेटका जिप, भ्यानको प्रयोग हुने गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
गएको १० महिनाको अवधिमा डिभिजन वन कार्यालय रौतहटले वनबाट काठ चोरेर लाँदै गरेको अवस्थामा चार वटा पिकअप भ्यान बरामद गरेको थियो । नक्कली नम्बर प्लेट राखेर काठ चोर्न प्रयोग भएका चार वटा पिकअप भ्यान र दुई वटा भारतीय नम्बर प्लेटका स्कर्पियो काठसहित बरामद भएको डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकृत बिमल ठाकुरले जनाएका छन् ।
वन कार्यालयले गस्ती तीव्र पारेका कारण काठ चोरी तस्करीमा प्रयोग भएका सवारी साधनहरु बरामद भएको डिभिजन वन कार्यालय रौतहटका डिएफओ शैलेन्द्र कुमार मिश्रको भनाइ छ ।
१० महिनाको अवधिमा डिभिजन वन कार्यालय रौतहटले काठ चोरी तस्करीमा प्रयोग भएका चार वटा पिकअप भ्यान दुई वटा स्कार पियो, सात वटा ट्रेक्टर, दुई वटा टायर गाडा र पाँच वटा मोटरसाइकल बरामद गरेको डिएफओ मिश्राले जानकारी दिए ।




