टीकापुर । नेपाल विद्युत प्राधिकरणले टीकापुर नगरपालिका केन्द्रको विद्युत् लाइन काटिदिएको छ । नगरपालिका क्षेत्रमा रहेका सडक बत्तीको महसुल नबुझाएको भन्दै प्राधिकरणले बिहिबार नगरपालिकाको मुख्य कार्यालयको लाइन काटिदिएको हो ।
प्राधिकरणले नगरपालिकाले ५ करोड ९ लाख ९३ हजार महसुल तिर्नुपर्ने दाबी गरेको छ । कार्यालयको लाइन काटिएपछि सेवाप्रवाहमा समस्या भएको छ ।
नेपाल विद्युत प्राधिकरण टीकापुर शाखाका प्रमुख इन्जिनियर कपिल जोशी आ.व. २०७१/७२ सालदेखिको सडक बत्तीको महसुल नबुझाएको र बारम्बार ताकेता गर्दा पनि तिर्ने सुरसार नभएकाले लाइन काटिएको बताए । लाइन काटिएपछि ब्याट्री ब्याकअपबाट कार्यालय चलेको छ ।





