काठमाडौं । नेपालमा कोरोनाको नयाँ भेरियन्टको उत्परिवर्ति भाइरस फैलिएको पुष्टि भएको छ । सरकारले नेपालमा नयाँ भेरियन्टको उत्परिवर्तित स्वरुपको भेरियन्ट फेला परेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सो भाइरस फेला परेको पुष्टि भएको जानकारी दिएको हो ।
गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये गर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी.१.६१७.२, एउटा नमूनामा अल्फा भेरियन्ट फेला परेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यो प्रकारको भाइरस नेपाललगायत विभिन्न १० मुलुकमा फेला परिसकेको समेत बताएको छ ।
डेल्टा भेरीयन्ट पुष्टी भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन एवाई १ भनिने के १४१७ एन प्रकारको भाइरस भेटिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यो प्रकारको भाइरस सबै उमेर समूहका लागि जोखिमपूर्ण भन्दै सचेत रहन अपीलसमेत गरेको छ । मन्त्रालयले कोरोना महामारीको जोखिम कम नभए पनि निषेधाज्ञा खुकुलो पारिएकोमा चिन्तासमेत प्रकट गरेको छ ।







