काठमाडौं । एमाले–माओवादीको समर्थन फिर्तापछि अल्पमतमा परेका मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सरकार विश्वासको मत प्राप्त गर्न नसक्ने देखिएको छ ।
सोमबार संघीय संसद्मा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको पक्षमा जनमत र एकीकृत समाजवादी पार्टीसमेतले विश्वासको मत दिएपछि मधेस प्रदेशको संसदीय गणित जसपा सरकारको प्रतिकूल बन्न पुगेको हो ।
मधेस प्रदेशमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेले नयाँ सरकार बनाउन कसरत थाले पनि संसदीय गणित प्रधानमन्त्रीले संघीय संसद्मा सामना गर्ने विश्वासको मतमा अडिएको थियो । संघीय संसद्मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेसँगै मधेस प्रदेशको संसदीय गणित पनि प्रष्ट भएको छ ।
आफैं मुख्यमन्त्री लिने गरी वर्तमान प्रदेश सरकारबाट बाहिरिएका एमाले र माओवादी केन्द्र प्रतिपक्षबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिन आइपुगेका सिके राउत नेतृत्वको जनमत पार्टीलाई दिन सहमत भएका छन् ।
पछिल्लो समय जसपा नेपालको विभाजनसँगै सत्ता समीकरण फेरिएपछि मधेसमा वर्तमान सरकार अल्पमतमा परेको छ । सरकार गठनमा ‘निर्णायक’ पोजिसनमा रहेका साना दल आफैं मुख्यमन्त्रीमा दाबी गर्न थालेपछि ठूला दल अनिर्णीत बन्दै आएका थिए ।
आफ्नो नेतृत्वमा सरकार बनाउन सबैजसो दलहरूको लबिङ गरिरहेका थिए । पहिलो र दोस्रो ठूला दल एमाले र कांग्रेस अलगअलग गठबन्धन निर्माण गरेर सरकार गठन गर्ने प्रयासमा थिए । तर, सोमबारको घटनाले मधेस प्रदेशको सत्ता समीकरणलाई पहिल्याइदिएको छ ।
संघीय सत्ता गठबन्धन अनुसार नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, जनमत, नागरिक उन्नमुक्ति पार्टीको कुल ५५ सांसद पुग्छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा १० दल सहभागी छन् । सरकार गठन गर्न प्रदेशसभाका ५४ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेशसभामा एमालेका सभामुखसहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा एसका ७ तथा राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका १/१ सांसद छन् ।
प्रमुख तीन दल नै मिलेको अवस्थाबाहेक साना दलको सहभागिता विना कसैले पनि बहुमत जुटाउन सक्ने अवस्था छैन । जसकारण निर्णायक भूमिकामा देखिएका साना दलहरूले मुख्यमन्त्रीमै दाबी गरिरहेका छन् ।
जसपा विभाजनपछि वर्तमान सत्ता गठबन्धनबाट उपेन्द्र यादव पक्ष बाहिरिएको छ । तर मधेसमा यादव पक्ष वा अशोक राई पक्षमा कति सांसद हुने भन्ने प्रष्ट भइसकेको छैन । तेस्रो दल जसपाबाट सरकारको नेतृत्व परिवर्तन हुँदा चौथो दल जनमतले मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेका छन् ।
वर्तमान सत्ता गठबन्धनमा रहेका एमाले, माओवादी केन्द्र, जनमत र नेकपा एस मधेसमा सरकार बनाउने लगभग तय भइसकेको छ । यसमा विभाजित जसपालाई समेत सहभागी गराउने सत्ता गठबन्धनको रणनीति छ । तर, जसपाका कति सांसद हुन्छन् भन्ने यकिन नहुँदा अन्योल कायम छ ।
कांग्रेससहितको वैकल्पिक गठबन्धनमा समेत जान सकिने बारे छलफल चलाइरहेका वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले जनमत र नेकपा एस प्रधानमन्त्रीलाई विश्वासको मत दिएर संघीय सत्ता गठबन्धनमा खुलेपछि निराश बनेका छन् ।
एमाले–माओवादीसहितको गठबन्धनमा जनमत र नेकपा एस दुवै सामेल भएपछि वर्तमान मुख्यमन्त्रीलाई विश्वासको मत सामना गर्न चुनौती थपिएको छ । वैकल्पिक गठबन्धनमा बनाएर सरकार जोगाउन समेत मुस्किल परेको छ ।
यता मुख्यमन्त्री यादवले भने बुधबारका लागि बोलाइएको प्रदेशसभाको बैठक रोक्दै चालु अधिवेशन नै अन्त्य गर्न गरेको सिफारिस अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको चालु दोस्रो अधिवेशन अन्त्य गरेकी छन् ।




