रौतहट । रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति जुटेको छ । सो उद्योग सञ्चालन गर्ने सम्बन्धमा बिहिबार गठित कार्यदलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष प्रतिवेदन पेस गरेको छ ।
प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति एवम् सांसद किरणकुमार साहको संयोजकत्वमा गठित कार्यदलले उद्योगीहरूलाई आर्थिक संकट भएको र जग्गा उपयोग गरेर उद्योग चलाउने वातावरण बनाउनु पर्ने बताए बमोजिम उद्योगका नाममा रहेको करिव ७४ बिघा जग्गामध्ये मूल संरचनामा असर नपर्ने गरी र ऋण फरफारक एवम् उपकरणहरूको मर्मत सम्भार गरी तत्काल सञ्चालन गर्ने सर्तसहित मूल सडकसँग जोडिएको केही जग्गा बेच्न दिने सहमति गरेको छ ।
भूमि सम्बन्धी ऐन २०२१, औद्योगिक व्यवसाय ऐन २०७६, लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ तथा अन्य प्रचलित कानुनको प्रावधान अनुसार कम्पनीका नाममा रहेको जग्गालाई प्रयोग गरी उद्योग सञ्चालन गर्न उपयुक्त विधि पहिचान गरी आवश्यक कार्य कम्पनीले अगाडि बढाउने सहमति भएको हो ।
सो उद्योग विगत चार वर्षदेखि सञ्चालन हुन नसकेको एवम् लगानीकर्ताले थप लगानी गर्न तथा ऋण तिर्न नसकेको देखिएकाले रुग्ण उद्योगको पहिचान सम्बन्धी कार्य गर्ने कार्यदलमा सहमति भएको छ ।
उद्योगलाई औद्योगिक व्यवसाय ऐन, २०७६ तथा नियमावली अनुसारको प्रक्रिया गरी रुग्ण उद्योगको सुविधासहित रूपान्तरण गरी सञ्चालन गर्न अगाडि बढाउन उपयुक्त देखिने कार्यदलको ठहर छ ।
हाल उद्योगका औजार तथा जग्गा नेपाल बैंक लिमिटेडमा धितो रहेको र करिब रु ३१ करोड साँवा ब्याजसहित ऋण रहेको एवम् उक्त बैंकले लिलामी प्रक्रिया अगाडि बढाएको हुँदा सो प्रक्रिया सम्बन्धमा आवश्यक सहजीकरण हुनुपर्ने कार्यदलले सुझाव दिएको छ ।
कार्यदलमा सभापति साहका साथै सांसद विना साह, संविधानसभा सदस्य रामकुमार भट्टराई, उद्योगीद्वय हितेश गोल्छा र विशाल अग्रवाल, उखु उत्पादक किसान संघका अध्यक्ष तथा स्थानीय संघर्ष समितिका अध्यक्ष अशोकप्रसाद यादव र मन्त्रालयका सहसचिव विपीन आचार्य सदस्य रहेका थिए ।
वि.सं. २०४९ मा स्थापित सो उद्योग २०७७ सालदेखि बन्द छ । झन्डै ७४ बिघा क्षेत्रफलमा रहेको सो उद्योगको नेपाल बैंक लिमिटेडले लिलामी सूचना निकालेर रानाकुमार अग्रवालले साकार गरेका छन् । जग्गाको लिलामी भने गरिएको छैन । स्थानीयको विरोधका कारण सो उद्योग अन्यत्र सार्न नसकिएपछि लामो समयदेखि विवाद हुँदै आएको छ ।




