काठमाडौं । विशेष अदालत काठमाडौंले मुगुमा सिँचाइ निर्माणमा अनियमितता भएको भन्दै तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढा लगायतलाई भ्रष्टाचार मुद्दामा आइतबार आंशिक ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई, मुरारीबाबु श्रेष्ठको इजलासले मुद्दा परेका ६ जनामध्ये दुई जनालाई सफाइ दिएको छ भने चार जनालाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिँचाइ निर्माणका क्रममा काम नसकिँदै भुक्तानी लिई उपभोक्ता समितिबाटै अनियमितता भएको भन्दै २०८० असार १२ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
अदालतले पञ्चलाल बुढा र टेकबहादुर खत्रीलाई जनही तीन महिना कैद र तीन लाख २० हजार रूपैयाँ जरिबाना र त्यत्ति नै बिगो असुल गर्ने ठहर गरेको छ । त्यसैगरी हस्तबहादुर रोकाया, राजेन्द्र शाहीलाई जनही तीन लाख २० हजार रूपैयाँ जरिबाना र त्यत्तिकै मात्रामा बिगो असुल गर्ने ठहर गरेको छ ।
मुगुमा २०७६/७७ मा सञ्चालन भएको खत्याड गाँउपालिका ४ खिराचौर कृषि सिँचाइ निर्माण योजना चलेको थियो । सिँचाइको काम समयमा नसकिएको तर काम सकिएको भन्दै नापी किताबमा चढाएर भुक्तानी लिइएको थियो ।
मुगुको खत्याड गाउँपालिका ४ स्थित गुगियाचौरमा प्रदेश सरकारबाट रकम प्राप्त भई आव २०७६/७७ मा सकिनुपर्ने योजनाको कामै नगरी काम सम्पन्न भएको प्रतिवेदन तयार गरी बिल भुक्तानी गरिएको थियो ।






